सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव
मोरङ | माघ १, २०८१
मोरङ: जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ ।
माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।
‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् ।
संयोजक चौधरीले माघेसङ्क्रान्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन साथै प्रवर्द्धनन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो ।
“महोत्सवमा ४० वटा औद्योगिक, ३० वटा खानपिनको कक्ष छन्”, उहाँले भन्नुभयो, “स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिलाई विशेष प्राथमिकता दिएका छौँ ।”
महोत्सवमा थारू सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शनलगायत रहेका छन् । साथै कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका प्रदर्शनी कक्ष, मनोरञ्जनात्मक खेल रहेका सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले थारू सङ्ग्रहालयमा थारू संस्कार तथा संस्कृति झल्किने सामग्रीहरू राखिएका उल्लेख गर्नुभयो ।
सङ्ग्रहालयका अध्यक्ष चौधरीले भन्नुभयो, “हामीले यो सङ्ग्रहालयलाई थारू जातिको सभ्यता, संस्कार, संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेका छौँ । उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको साथ सहयोग आवश्यक छ ।”
महोत्सवको व्यवस्थापनका लागि करिब रु ६० लाख खर्च आयोजकको अनुमान छ । दैनिक रु ५० लाखदेखि रु एक करोडसम्मको व्यापार हुनुका साथै दैनिक १० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा शारीरिक रूपमा अशक्त साथै विद्यालयका विद्यार्थीका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
थारू जातिको संस्कार, संस्कृति, सभ्यता चिनाउनुका साथै भावी पिँढीका लागि पुरातात्यिक सम्पदा पहिचान गराउने उद्देश्यले स्थापित थारू सङ्ग्रहालयले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माणसहित आवश्यक सामग्रीको खरिद गर्ने योजना बनाएको सुन्दरहरैँचा–४ का वडाध्यक्ष कैलाश बस्नेतले बताउनुभयो ।
थारू सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारकोतर्फबाट सहयोग र आवश्यक समन्वय गरिने सुन्दरहरैँचा नगरपालिकाका उपप्रमुख अकली चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेराबारका लागि रु १० लाख बजेट छुट्याएर काम सम्पन्न भएको जनाउँदै सङ्ग्रहालय निर्माणका लागि थप रु २० लाख बजेट छुट्याएको उल्लेख गर्नुभयो ।
विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार सुन्दरहरैँचा नगरपालिकाको जनसङ्ख्या एक लाख २० हजार दुई सय १३ रहेकामा यहाँ थारू जातिको जनसङ्ख्या ३३ हजार सात सय ७९ रहेको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

